September 11, 2026

विपद् प्रभावित परिवार तथा अभिभावकविहीन बालबालिकालाई मानवीय सहयोग

जाजरकोट, छेडागाड।

निरन्तर वर्षाका कारण उत्पन्न प्राकृतिक विपद्बाट प्रभावित परिवार तथा अभिभावक गुमाएका बालबालिकाको तत्कालीन आवश्यकता सम्बोधन गर्ने उद्देश्यले सेभ द चिल्ड्रेनको सहयोग तथा पाँचतारा युवा संरक्ष  मञ्चको सहजीकरणमा राहत तथा सहयोग सामग्री उपलब्ध गराइएको छ।

छेडागाड नगरपालिकाका विभिन्न क्षेत्रमा वर्षाका कारण प्रभावित २० परिवारलाई खाद्यान्न तथा दैनिक जीवनयापनका लागि आवश्यक राहत सामग्री वितरण गरिएको हो। विपद्का कारण घरायसी तथा अत्यावश्यक सामग्रीमा क्षति पुगेका परिवारलाई तत्काल राहत पुगोस् भन्ने उद्देश्यले भान्सामा प्रयोग हुने भाँडाकुँडा, बालबालिकाका लागि आवश्यक सामग्री, न्यानो तथा ग्रीष्मकालीन कम्बल, किशोरी किट, आश्रय किट, सरसफाइ किट, मर्यादा किट तथा घरेलु पानी फिल्टरलगायतका सामग्री उपलब्ध गराइएको थियो। प्रति परिवार एक सेट राहत सामग्रीको कुल मूल्य रु. २१,६७५ रहेको छ।

राहत सामग्री वितरण कार्यक्रममा छेडागाड नगरपालिकाका उपप्रमुख श्री चन्द्रबहादुर थापा तथा पाँचतारा युवा संरक्ष  मञ्चका बोर्ड सदस्य गीता शाही लगायतको उपस्थिति रहेको थियो।

सो अवसरमा उपप्रमुख थापाले विपद्को समयमा प्रभावित नागरिकको तत्कालीन आवश्यकता सम्बोधन गर्न उपलब्ध गराइएको सहयोग महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले यस्ता सहयोगले प्रभावित परिवारको दैनिक जीवनयापनमा राहत पुर्‍याउनुका साथै कठिन परिस्थितिमा स्थानीय सरकार तथा सरोकारवाला निकायको साथ र सहयोग रहेको अनुभूति गराउने उल्लेख गर्नुभयो।

यसै क्रममा छेडागाड नगरपालिका–१, सोरीमा अभिभावक गुमाएका बालबालिकालाई पनि सहयात्रा तेस्रो परियोजनामार्फत मानवीय सहयोग उपलब्ध गराइएको छ। बालबालिकाको पारिवारिक अवस्था, दैनिक जीवनयापन तथा आधारभूत आवश्यकतासम्बन्धी जानकारी प्राप्त भएपछि उनीहरूको तत्कालीन आवश्यकतालाई ध्यानमा राख्दै खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री सहयोग गरिएको हो।

उक्त सहयोग सामग्री सहयात्रा तेस्रो परियोजनाका परियोजना व्यवस्थापक श्री लोकमणि गिरीले बालक पृथ्वी नेपालीलाई हस्तान्तरण गर्नुभएको थियो। सामग्री हस्तान्तरणका क्रममा छेडागाड नगरपालिका वडा नं. १ का वडा सदस्य श्री जय रूपा बस्नेतको रोहवर रहेको थियो। उक्त सहयोग सामग्रीको कुल मूल्य रु. ११,९०५ रहेको छ।

सहयात्रा तेस्रो परियोजनाका परियोजना व्यवस्थापक गिरीले अभिभावकको साथ, संरक्षण तथा मार्गदर्शन गुमाएका बालबालिकालाई सहयोग गर्नु केवल आवश्यक सामग्री उपलब्ध गराउनु मात्र नभई उनीहरूप्रति समाजको माया, साथ, अपनत्व र जिम्मेवारी व्यक्त गर्नु पनि भएको बताउनुभयो। उहाँले कठिन परिस्थितिमा रहेका बालबालिकाले आफूहरू एक्लो नभएको अनुभूति गर्न सकून् र आफ्नो शिक्षा तथा भविष्यप्रतिको आशा कायम राख्न सकून् भन्ने उद्देश्यले सहयोग गरिएको उल्लेख गर्नुभयो।

विपद् प्रभावित परिवार तथा अभिभावकविहीन बालबालिकालाई लक्षित गरी गरिएको सहयोगले उनीहरूको तत्कालीन आवश्यकता पूरा गर्न तथा दैनिक जीवनयापन केही सहज बनाउन योगदान पुग्ने विश्वास गरिएको छ। विशेषगरी विपद्को समयमा बालबालिका, किशोरी, महिला तथा अन्य संवेदनशील समूहका आवश्यकता, सुरक्षा र संरक्षणलाई प्राथमिकतामा राख्दै राहत तथा सहयोगका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ।

स्थानीय स्तरमा विपद्को प्रभाव न्यूनीकरण गर्दै प्रभावित परिवार तथा बालबालिकाको जीवनलाई पुनः सहज बनाउन स्थानीय सरकार, समुदाय, सामाजिक संस्था तथा अन्य सरोकारवाला निकायबीचको समन्वय र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ।

share it:

Notes